Thursday, August 28, 2014

घुमुवा प्रहरीद्वारा गोली हान्ने धम्की

लहान । जनतालाई शान्ति सुरक्षा दिने प्रहरीले एक व्यापारीलाई गोली हान्ने धम्की दिएको छ । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत घुमुवा प्रहरी दुर्गा यादवले लहानका युवा व्यापारी अनिल साहलाई बुधबार राति २४ घण्टाभित्र गोली हान्ने धम्की दिएका हुन् ।
व्यापारको काम सकी साथी भेट्न गएको बेला बुधबार राति ८ बजे अत्याधिक मदिरा सेवन गरेका घुमुवा प्रहरी यादवले साहलाई अचानक ‘तैले धेरै पैसा कमाएको छस्, फुर्ति लाउँछस्, तलाई २४ घण्टाभित्र गोली हानेर उडाइदिन्छु’
भनेर धम्की दिएको पीडित व्यापारी साहले बताए ।
लहान नगरपालिका–१ मा मा श्यामा च्युरा मीलका सञ्चालक रहेका साह गत एक वर्षदेखि जग्गाको कारोबारमा समेत संलग्न छन् । इलाका प्रहरी कार्यालय लहानमा प्रहरी हवल्दारको दर्जामा रही गत तीन वर्षदेखि घुमुवामा खट्दै आएका यादवले बेला बेलामा साहसँग पेट्रोल र रिचार्ज कार्ड मागेर हैरान पार्ने गरेको पीडित व्यापारी साहले गुनासो गरे ।
धेरै जना स्थानीय युवाहरुकै अगाडि साहलाई धम्की दिंदै घुमुवा प्रहरी यादव त्यहाँबाट गएपछि पीडित व्यापारी साहले घटनास्थलबाटै राति नौ बजे स्थानीय सञ्चारकर्मीहरुलाई खबर गरेका थिए ।
सञ्चारकर्मीहरुले सिरहाका प्रहरी उपरिक्षक पूर्णचन्द्र जोशीलाई सोबारे खबर गरेपछि घुमुवा प्रहरी यादवलाई राति ११ बजे लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मेडिकल जाँच गराएका थिए । उक्त जाँचमा यादवले मदिरा सेवन गरेको पाइएको अस्पतालले जनाएको छ ।
पीडित व्यापारी साहले आफूलाई गोली हान्ने धम्की दिने घुमुवा प्रहरीमाथि कारबाही गर्नको लागि इलाका प्रहरी कार्यालय लहान तथा जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएका छन् ।

No comments:

Post a Comment