Thursday, September 10, 2015

लहानमा गोली चल्यो, दर्जनौँ घाईते

लहान । संयुक्त मधेशी मोर्चाले आहवान गरेको अनिश्चितकालिन मधेश बन्दको बुधवार २६ औँ दिनमा लहान तनाव बढेको छ । आन्दोलनकारीले सडकमा रुख ढालेर अवरुद्ध गर्ने क्रममा प्रहरीसँग भएको झडपमा दर्जन भन्दा बढी प्रदर्शनकारी घाईते भएको छ ।
प्रदर्शनकारीहरुले ट्राफिक प्रहरी कार्यालय छेउमा पुर्व पश्चिम लोकमार्गमा रहेको मसालाको रुख काट्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो । झडपको क्रममा प्रहरीको तर्फबाट नौ जना तथा प्रदर्शनकारीको तर्फबाट चार जना गोली लागि घाइते भएको बताइएको छ । सद्भावना पार्टीका सह

महासचिव राजकुमार गुप्ताका अनुसार प्रहरीले चलाएको गोली लागी लहान–१ निवासी बद्री राम, बर्छवाका रमेश यादव, सोठियाइनका मनोज यादव तथा हकपाडाका परमानन्द यादव घाइते भएका छन् । रामको तिघ्रामुनिको अण्डकोषनिर, रमेश र मनोजको देब्रे खुट्टामा तथा परमानन्दको टाउको र पिठ्यमा गोलीको छर्रा लागेको छ । अन्य प्रदर्शनकारी समान्य घाइते भएका छन् । उनीहरुको उपचार लहानस्थित राउस्मारक अस्पतालमा भइरहेको छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरिक्षक उमाप्रसाद चतुर्वेदीले प्रहरीतर्फ नौ जना घाइते भएको जनाए । उनले प्रदर्शनकारीले झडपको क्रममा गुलेली र पेट्रोल बम प्रहार गरेको बताए । झडपकै क्रममा प्रदर्शनकारीले ट्राफिक प्रहरी कार्यालय अगाडि रहेको प्रहरी बिट जलाएका छन् । बेलुकी ५ बजेदेखि सुरु भएको प्रहरी र प्रदर्शनकारीबीचको झडप साँझ साढे सात बजेसम्म चलेको थियो । साँझ परेपछि प्रहरीले प्रदर्शनकारीको भीड तितरबितर गरी स्थिती नियन्त्रणमा लिएको थियो ।
यसैगरी प्रहरी र प्रदर्शनकारीबीच गोलबजार र मिर्चैयामा पनि झडप भएको छ । सिरहाको पुर्व पश्चिमका बजारहरुमा तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले सिरहाको पुर्वी सिमाना बलान नदीदेखि पश्चिम कमला नदीसम्मको क्षेत्र र पुर्व पश्चिम लोकमार्गको नयाँ चोहर्वादेखि सिरहा सदरमुकाम बजारको दक्षिण लच्कासम्म दाँया पाँच सय मिटर र बाँया पाँच सय मिटरको क्षेत्रमा बुधबार राति ११ बजेदेखि विहीबार विहान ५ बजेसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।


No comments:

Post a Comment