
साक्षरता कक्षा संचालन गर्न जिल्ला शिक्षा कार्यालय सिरहाले निर्धारण गरेको शर्तको अधिनमा रहने प्रतिबद्धता व्यक्त गर्दै जिल्लाका सैकडौं गैरसरकारी संघ÷संस्थाहरुले त्यो कक्षा सम्पन्न गरेका छन् । तीन महिनाका लागि चलेको साक्षरता कक्षा जेष्ठमा नै सकेको छ । कक्षा सम्पन्न गरेका कार्य प्रतिवेदन पनि बुझाइसकेका छन्, ती संस्थाहरु ।
तर, सिरहा जिल्ला साक्षर भएको भन्ने घोषणा कार्यक्रम गौण हुँदै आएपनि साक्षरता कार्यक्रमसँग सम्बन्धित अन्य काम भने अगाडी बढिरहेका छन् । शैक्षिक सामग्रीको बील, सहजकर्ता र सहभागीहरुको उपस्थिति हाजरी, कक्षा संचालन प्रतिवेदन लगायत अन्य कागजात जिशिकालाई जिम्मा लगाएर अन्तिम भुक्तानी हुनेमा संस्थाहरु ढुक्क भएको बुझिनमा आएको छ ।
साक्षरता कार्यक्रम संचालन निर्देशिका नै त्रुटिपूर्ण रहेको आम चर्चाको विषय बनेको थियो र बनेको छ । कक्षा संचालनका लागि संस्थालाई चाहिने सेवासुविधा उपलब्ध नगराएको कारण यो कार्यक्रम असफल भएको भनेर एकापक्षले चित्रण गरेको छ । बढ्दो महगीको अवस्थामा पनि सहजकर्ताको न्यून तलब, आवश्यक शैक्षिक सामग्रीको अभाव, कक्षा अनुगमन गर्ने फितलो नीति तथा देशमा आएको महाभुकम्पको बेलामा पनि यो कक्षा संचालन नै रहेको भन्नुले शंका र ठोकुवा गर्ने ठाउँ दिएको छ भनेर आम बुझाई बनेका छन् ।
कक्षा सम्पन्न भएको महिना दिन बित्न लागेको छ । अब जिल्ला स्तरीय साक्षरता घोषणा कार्यक्रम कहिले ? कुन निकायले त्यो कार्यक्रम गर्ने ? जनसमक्ष प्रष्ट पार्न सम्बन्धित निकायको दायित्व हो । नभए कार्यक्रम असफल भएको भन्नु प¥यो । यदि कार्यक्रम असफल भएको हो भने जनताको नाउँमा यसरी रकम दुरुपयोग गर्नेलाई कानूनी कारवाही हुनुपर्छ नभए विधिको शासनमाथि प्रश्न चिन्ह लाग्न सक्छन् । (नवजागृति साप्ताहिक, सम्पादकिय, असार २२)
No comments:
Post a Comment