Saturday, September 27, 2014

मिथिला सँस्कृति मिथिलाको सबैभन्दा ठूलो सम्पति ः शिक्षामन्त्री यादव

सदरमुकाम सिरहामा ‘झिझियाँ फेस्टिवल २०१४’ को आयोजक समितिले दोसल्ला र मायाको चिनोसहित सम्मान गर्दै शिक्षा मन्त्री चित्रलेखा यादवलाई ।
लहान । ‘लोकनृत्य झिझियाके बचाउ, अपन मैथिली सँस्कृतिके जगाउ’ मूल नारासँगै सदरमुकाम सिरहामा आयोजना गरिएको झिझियाँ फेस्टिवल २०१४ को उद्घाटन गर्दै शिक्षामन्त्री चित्रलेखा यादवले मिथिला सँस्कृति मिथिलाको सबैभन्दा ठूलो सम्पति रहेको बताईन ।
मिथिलाका धरोहरहरुको संरक्षण, सम्र्वद्धन गर्नु सवैको प्रमुख कर्तव्य रहेको मन्त्री यादवले भनिन् । उनले, ‘मिथिला सँस्कृति मिथिलाको सबभन्दा ठूलो सम्पति हो । यसको संवद्र्धन गर्नु प्रमुख कर्तव्य र दायित्व हाम्रै छ । हामी यसका निम्ति जुट्नुपर्छ भने ।’

झिझियाँ हातमा उचालेर मन्त्री यादवले फेस्टिवलको उद्घाटन गरे । यसैवीच शिक्षामन्त्री यादवले झिझियाँ फेस्टिवल २०१४ मा मैथिली प्रचलित लोकृत्य झिझियाँ प्रस्तुतीमा सहभागी समुहलाई नगद सहित पुरस्कृत गरेका छन् । प्रतियोगिताका ६ वटा समुहमध्ये उत्कृट प्रर्दशन गर्दै माँ दुर्गा झिझियाँ समुह प्रथम भएका छन् । त्यसैगरी सल्हेश समुन्द्री झिझियाँ समुह दोस्रो, कारी देवी यादव झिझियाँ समुह तेस्रो, राजदेवी झिझियाँ समुह चौंथो, राधा पासमान झिझियाँ समुह पाँचौं र सरीता यादव झिझियाँ समुह छैठौं स्थान प्राप्त गरेका छन् ।
प्रथम भएकालाई ५ हजार १ सय नगद, साडी, मेडल र प्रमाणपत्र, दोस्रोलाई ३ हजार ५ सय नगद, साडी, मेडल र प्रमाणपत्र, तेस्रो लाई २ हजार पाँचसय नगद, साडी, मेडल र प्रमाणपत्र र चौथो, पाँचौ र छैठोलाई समान १ हजार १ सय नगद, साडी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक समावेशी नेपाल सिरहाका सचिव रामकिशोर यादवले बताए ।
२०६९ सालदेखि मैथिली लोकनृत्य झिझियाँ, लोकबाजा ढोलपिपही लगायतको संरक्षण, संवद्र्धनमा झिझियाँ फेस्टिवल प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । यस फेस्टिवलमा मिथिलाको वीरताको प्रतिक राजा सल्हेशको प्रस्तुति, दाजुभाईको प्रेम प्रतिकको रुपमा रहेको सामाचकेवाको प्रस्तुति समेत गरिएको थियो । मैथिली लोक सँस्कृति बचाउ अभियान अन्र्तगत सिरहामा आयोजना भईरहेको यस कार्यक्रममा स्थानीय कालाकारहरुले समेत आफ्नो साँस्कृतिक प्रस्तुति गरेका थिए ।
यसवीच आयोजकले शिक्षामन्त्रीलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् । मिथिलाको वीरताको प्रतिक राजा सल्हेशको प्रतिमा शिक्षामन्त्री यादवलाई मायाको चिनोको रुपमा समेत प्रदान गरेको कार्यक्रम व्यवस्थापन विभाग प्रमुख शम्भु साहले बताए ।
सदरमुकाम सिरहाको चन्द्र उच्च माध्यमिक विद्यालय परिसरमा भएको कार्यक्रममा राजनीतिक दलका प्रमुख÷प्रतिनिधी, विभिन्न कार्यालयका प्रमुख, संघसंस्थाका प्रमुख र स्थानीय ५ हजार वढी महिला पुरुषको उपस्थिति रहेको थियो । फेस्टिवलको अवसरमा विविधतायुक्त साँस्कृतिक ¥याली समेत प्रर्दशन गरिएको थियो ।
के हो झिझियाँ नृत्य
मिथिलाको प्रचलित लोकनृत्य झिझियाँ एउटा विशेष प्रकारको नृत्यको रुपमा मानिन्छ । माटोको घैंटोमा सयौं प्वालहरु गरिन्छ । प्वाल भएको घैंटो भित्र बलिरहेको दियो राखिन्छ र त्यो घैंटो महिलाहरुले आ–आफ्नो टाउकोमा राखी नृत्य गर्छिन् ।
मध्यकालमा टुनामुनाको प्रभाव वढी रहेको थियो । यो प्रचलित लोकनृत्य मध्यकालदेखि नै सुरु भएको जानकारहरुको भनाई छ । विजया दशमीको सुरुवातमा टुनामुना गर्नेहरु सक्रिय हुने भएकोले त्यसविरुद्ध जनचेतना जगाउन झिझियाँ नृत्य गर्दै आएको सिरहा क्याम्पसका सह–प्राध्यापक चन्देश्वर प्रसाद यादवले बताए । यादवका अनुसार महिलाहरुले दुष्टप्रभाव र टुनामुनाबाट गाउँ समाजलाई सुरक्षित र सर्तक बनाउन यस्तो नृत्य गर्दै आएको हो ।
यो नृत्य पछिल्लो समय हराउन थालेपछि सिरहामा स्थानीय व्यक्ति र संस्थाहरुले बचाउन अभियान अन्र्तगत फेस्टिवलको आयोजना गर्न थालेको छ । समावेशी नेपाल सिरहा नामक संस्थाले नियमित रुपमा झिझियाँ फेस्टिवलको आयोजना गर्दै आएको छ ।



No comments:

Post a Comment